
काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ।
भर्खरै सम्पन्न फाइनल खेलमा युएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। उपाधिसँगै नेपालले सन् २०२७ मा बंगलादेशमा हुने एसिया कपमा समेत स्थान बनाएको छ। यो नेपालले जितेको प्रिमियर कपको दोस्रो उपाधि हो। यसअघि सन् २०२३ मा भएको पहिलो संस्करणको फाइनलमा पनि नेपालले युएईलाई नै ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो।
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएईले ४९.२ ओभरमा २६८ रन मात्रै बनाउन सक्यो। उसका लागि राहुल चोपडाले शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन्। उनी १०० रनमा अविजित रहे। यस्तै, शोहैब खानले ५२, तनिश सुरीले ४२ तथा हरप्रीत सिंहले ३३ रन बनाए।
नेपालका लागि बलिङतर्फ करण केसीले ३ तथा ललित राजवंशीले २ विकेट लिए। सन्दीप लामिछाने, रोहित पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र बसिर अहमदले समान १–१ विकेट लिए। त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो।
नेपालका ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेले। १०६ बलको सामना गरेका उनले ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए।यस्तै, गुलशन झाले ५२ रनको अर्धशतकीय पारी खेले। अर्जुन कुमालले ४३, रोहित पौडेलले ४० तथा दीपेन्द्र सिंह ऐरीले १८ रन बनाए। बसिर अहमद १५ रनमा अविजित रहे।
युएईका लागि बलिङतर्फ इबरार अहमदले ४ विकेट लिए। खुजैमा तनवीरले २ तथा हैदर अली र अदीव उस्मानीले समान १–१ विकेट लिए।

