धनगढीमा टोल, चोक र सार्वजनिक स्थलको नाम जथाभावी फेर्न रोक

cp new add
Nisharg hospital

धनगढी । धनगढी उपमहानगरपालिकाले टोल, चोक, मार्ग तथा सार्वजनिक स्थलको प्रचलित वा आधिकारिक नाम जथाभावी परिवर्तन तथा नयाँ नामकरण गर्न रोक लगाएको छ ।

पुराना तथा प्रचलित नाम व्यक्ति, समूह वा संस्थाले आफ्नो अनुकूल परिवर्तन गरी प्रयोग गर्ने गरेको गुनासो आएपछि उपमहानगरपालिकाले सबै वडा कार्यालयलाई नाम परिवर्तनमा कडाइ गर्न निर्देशन दिएको हो ।

प्रशासकीय अधिकृत सुरेन्द्रसिंह कार्कीले नगर प्रमुखको आदेशअनुसार वडा कार्यालयलाई पत्र पठाउँदै नाम परिवर्तन वा नयाँ नामकरण गर्दा तोकिएको प्रक्रिया अनिवार्य पालना गर्न निर्देशन दिएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार सार्वजनिक स्थल तथा स्थानीय सडकसम्बन्धी लगत, संरक्षण, नीति, कानुन र नियमन गर्ने अधिकार स्थानीय तहलाई रहेको उपमहानगरले जनाएको छ ।

नाम परिवर्तन वा नयाँ नामकरण आवश्यक भए सम्बन्धित वडा कार्यालयका प्रतिनिधिको रोहबरमा टोल विकास संस्थाको बैठकबाट सर्वसम्मत निर्णय गरी कारण, औचित्य र आधार खुलाउनुपर्नेछ । उक्त निर्णय वडा कार्यालयमार्फत नगर कार्यपालिकामा सिफारिस गर्नुपर्ने र नगर कार्यपालिकाले औपचारिक निर्णय नगरेसम्म प्रस्तावित नामलाई आधिकारिक रूपमा प्रयोग वा प्रचार गर्न पाइने छैन ।

अनौपचारिक रूपमा यसअघि परिवर्तन गरिएका नामलाई पनि उपमहानगरपालिकाको मान्यता प्राप्त भएको नमानिने र आधिकारिक अभिलेखमा कायम नाम नै प्रयोग गर्नुपर्ने स्पष्ट पारिएको छ ।

उपमहानगरपालिकाले उक्त व्यवस्था टोल विकास संस्था, स्थानीय समुदाय तथा सम्बन्धित सरोकारवालालाई जानकारी गराई अनिवार्य रूपमा कार्यान्वयन गर्न वडा कार्यालयलाई निर्देशन दिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...