
धनगढी । धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।
माइती पक्षले गुमादेवीलाई कुटपिट गरी हत्या गरिएको आशंका गरेको छ। मृतकका दाजु टीकाराम जोशीका अनुसार असोज ८ गते राति उनका श्रीमान् तेजराज जोशी, सासुसहित घरका सदस्यले गुमादेवीलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।
‘श्रीमान्–श्रीमतीबीच लामो समयदेखि झगडा भइरहेको हामीले जानकारी पाएका थियौं,’ टीकारामले भने, ‘असोज ८ गते दिउँसो माइत जान्छु भन्दा बहिनीलाई रोकेछन्। राति कुटपिट गरेर गम्भीर घाइते बनाएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको रहेछ। उपचारका क्रममा बुधबार उनको मृत्यु भएको हो।’
घटनालाई लुकाउन आत्महत्याको प्रयास गरेको देखाउन खोजिएको आरोप पनि माइती पक्षले लगाएको छ। टीकारामका अनुसार गुमादेवीलाई राति नै कैलाली अस्पतालमा भर्ना गरिएको भए पनि दुई दिनपछि मात्रै आत्महत्या प्रयास गरेको भन्दै प्रहरीलाई जानकारी गराइएको थियो।
‘आत्महत्याको प्रयास भएको भए त्यही राति प्रहरीलाई जानकारी गराउनुपर्थ्यो,’ उनले भने, ‘यसमा ज्यान मार्ने उद्देश्य देखिन्छ। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाही हुनुपर्छ।’
मृतकका श्रीमान्ले राति नशालु पदार्थ सेवन गरी गुमादेवीमाथि ज्यान मार्ने गरी आक्रमण गरेको आरोप पनि टीकारामले लगाएका छन्।
असोज ८ गते राति गम्भीर अवस्थामा कैलाली अस्पतालको भेन्टिलेटरमा भर्ना गरिएकी गुमादेवीको बुधबार मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।
घटनाबारे अनुसन्धान गर्न प्रहरीले मृतकका श्रीमान् तेजराज जोशीसहित अर्का एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ।

