
धनगढी । बैतडीमा पेन्सन बुझ्न भारतको झुलाघाट जाने क्रममा जीपमै अचानक बेहोस भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार सुर्नया गाउँपालिका–२ बिजुलाका ६० वर्षीय डम्बरबहादुर चन्द सोमबार बिहान पेन्सन बुझ्न झुलाघाट जाने क्रममा दशरथ चन्द नगरपालिका–१ गुरुखोलामा जीपमै अचानक बेहोस भएका थिए ।
बेहोस भएका चन्दलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चन्द सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६८६ नम्बरको जीपमा यात्रा गरिरहेका थिए । उक्त जीप सुर्नया गाउँपालिका–२ बिजुलाका ४७ वर्षीय सुनिल बिष्टले चलाएका थिए ।
मृतक चन्दको शव जिल्ला अस्पताल बैतडीको शवगृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

