काठमाडौं । वैदेशिक रोजगार विभागले बुधबार श्रमिकसँग तोकिएको भन्दा बढी शुल्क असुल्दा असुल्दै एक म्यानपावर कम्पनीमा छापा मार्यो । तर, सुरुमा त श्रमिकले भर्खरै बुझाएको पैसा बुझ्ने म्यानपावर सञ्चालकसँग रकम नै भेटिएन ।
विभागको टोलीले सोधीखोजी गर्दा मात्रै पत्ता लाग्यो, पैसा त बुझ्नासाथ झ्यालबाट बाहिर फ्याँकिसकिएको रहेछ १
बत्तीसपुतलीस्थित गल्फ एसिया म्यानपावर कम्पनीमा छापा मारेर विभागले कम्पनीका सञ्चालक राजेश यादवलाई बिहीबार विभागमा हाजिर हुन निर्देशन दिएको छ ।
मलेसियाको इस्टोन कम्पनीबाट ५० जना पुरुष र ५० जना महिला कामदार लैजान कम्पनीले पूर्वा स्वीकृति लिएको थियो । त्यसअनुसार कम्पानीले ३५ जनालाई मलेसिया पठाइसकेको छ ।
बाँकी १७ जनालाई पठाउने क्रममा २ लाख ५० हजारसम्म माग गरिएको उजुरी विभागमा परेको थियो । २ जना श्रमिकले गरेको उजुरीका आधारमा विभागले पैसा बुझाउन गएका एक श्रमिकलाई पछ्याएको थियो । उनले यसअघि नै ५० हजार बुझाइसकेका थिए भने थप २ लाख बुझाउन जाँदै थिए ।