२२ असार, धनगढी । बाजुराको बुढीगंगा नगरपलिकामा बिहीबार हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिए ।
‘हामीले निर्वाचनलाई भयरहित वातारणमा स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दलको सहमतीका आधारमा प्रक्रिया अघि बढाएका छौँ,’ प्रजिअ अधिकारीले भने, ‘सबै मतदान स्थल र मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट सिनियर अधिकृतको कमाण्डमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरेका छौँ ।’
उनले १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक(इन्सपेक्टर) को नेतृत्वको टोली खटाइएको बताए । निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीहरु मतदान केन्द्रहरुमा पुगिसकेको पनि प्रजिअ अधिकारीले बताए ।
उनकाअनुसार निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले बिहीबार बिहान ७ बजेदेखि मतदान हुनेछ । मंगलबार सबै मतदान स्थलको निरीक्षण गरेका अधिकारीले बुधबार पनि मुख्य निर्वाचन अधिकृतसहितको टोलीले निरीक्षण गर्ने कार्यक्रम रहेको जनाए ।
गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले वीच मतदानमा धाँधली गरेको आरोप लगाएपछि भएको विवादका कारण मतदान नै स्थगित गरिएको थियो । निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनः निर्वाचन गर्ने निष्कर्ष निकालेको थियो ।
निर्वाचन पुनः हुनुपर्ने माग गर्दै अदालतमा मुद्धा समेत दायर भएको थियो । पछि सर्वदलीय सहमतीका आधारमा पुनः निर्वाचनको मिती तय गरिएको थियो । बुढीगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँबीच प्रतिस्पर्धा हुनेछ ।