२५ असोज, धनगढी । प्रतिनिधि सभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा ४९ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेशसभातर्फका १० निर्वाचन क्षेत्रमा ९६ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका प्रमुख प्रेम भट्टले प्रतिनिधिसभा र प्रदेशसभामा गरेर १४५ जनाको उम्मेदवारी परेको जानकारी दिए ।
उनकाअनुसार ४२ जनाले स्वतन्त्र उम्मेदवारीमा दर्ता गराएका छन । जसमध्ये प्रतिनिधिसभामा १० र प्रदेशसभामा ३२ जना छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि २ स्वतन्त्रसहित ११ जना, प्रदेशतर्फ (१) मा३ जना स्वतन्त्रसहित १० जना र प्रदेशसभा (२) मा ४ जना स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि ९ जना, प्रदेशसभा तर्फ १ मा एक स्वतन्त्रसहित ९, २ मा ४ जना स्वतन्त्रसहित ११ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा २ स्वतन्त्र र ६ जना राजनीतिक दलका गरी ८ जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन आयोगको तथ्याँक छ । प्रदेश सभातर्फ क्षेत्र नम्बर ३ को १ मा २ स्वतन्त्र र छ जना राजनीतिक दलका गरी ८ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर ३ को २ मा सात जना स्वतन्त्र र ६ जना राजनीतिक दलका गरी १३ जनाले मनोनयन दर्ता गराएका छन् ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभामा १ जना स्वतन्त्र र नौ जना राजनीतिक दलका गरी १० जनाले उम्मेदवारी दिएका छन । प्रदेश सभातर्फ ४ (१)मा ६ स्वतन्त्र र ७ जना राजनीतिक दलका गरी १३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ४ (२) मा दुई जना स्वतन्त्र र ४ जना राजनीतिक दलका गरी ६ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभामा ५ जना स्वतन्त्र र ६ जना राजनीतिक दलका गरी ११ जनाको उम्मेदवारी रहेको छ । प्रदेश सभातर्फ ५ (१) मा १ स्वतन्त्र र पाँच जना राजनीतिक दलका गरी ६ जनाको उम्मेदवारी परेको छ, भने ५ (२)मा एक जना स्वतन्त्र र ७ जना राजनीतिक दलका गरी आठ जनाले उम्मेदवारी दर्ता गरेका छन ।
आगामी मङ्सिर ४ गते हुने प्रत्यक्ष तर्फको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदका लागि जिल्लाका ५ निर्वाचन क्षेत्रमा कुल एक सय ४५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले बताएको छ । उम्मेदवार विरुद्धमा परेका उजुरीमा आज (मंगलबार) निर्णय हुँदैछ ।