२६ असोज, डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन ।
जस्मा प्रतिनिधि सभामा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका चक्र स्नेही पनि रहेका छन् ।
एमाले केन्द्रले नै स्नेहीको उम्मेदवारी फिर्ता गर्न लगाएको एमाले डडेल्धुराका सचिव गजेन्द्र शाहीले बताएका छन । तर एमालेकै बागी उम्मेदवार बनेका विक्रमबहादुर शाहीले भने उम्मेदवारी फिर्ता लिएका छैनन ।
यस विषयमा चक्र स्नेहीले धेरै नबोली भने, ‘मैले फिर्ता लिएको हैन माथि केन्द्रबाट फिर्ता लिन लगाइयो ।’ उनले अब कसैलाई समर्थन नगरी आफ्नो ढंगबाट अगाडी बढ्ने प्रतिक्रिया दिएका छन ।
यतिबेला एमालेले उम्मेदवारी फिर्तालिएसँगै नेपाली काँग्रेस (विपी)सँग तालमेल हुने चर्चा चलेको छ । काँग्रेस विपीका एक नेताका अनुसार एमालेसँग चुनावी तालमेलबारे छलफल भइरहेको छ ।
‘हामीले जिल्लाको प्रदेश सभा ‘क’ मा एमालेका उम्मेदवार पठान सिंह बोहरा र एमालेले प्रतिनिधि सभामा काँग्रेस विपीका कर्णबहादुर मल्ललाई सघाउने गरि गृहकार्य चलिरहेको छ’ उनले भने ।
यस्तै प्रदेश सभा ‘ख’ मा एकीकृत समाजवादीका बागी उम्मेदवार डा तारा जोशीलाई सहयोग गर्ने समेत काँग्रेस विपीको तयारी रहेको छ । त्यसको बदलामा जोशी निकट नेता कार्यकर्ताले मल्ललाई सहयोग गर्ने गरी छलफल भइरहेको छ ।