२९ असोज, धनगढी । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्तासँगै राजनीतिक दल मतदाता रिझाउन सक्रिय बनेका छन् । सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न राजनीतिक दलबाट गठबन्धनसहित वा एक्लाएक्लै उम्मेदवार बनेका नेताहरु प्रचारप्रसारमा सक्रिय छन् ।
उनीहरु मध्ये प्रदेशसभा सदस्यको चुनाव लडिरहेका धेरैले आफूलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्तुत गर्दै मत माग्न थालेका छन् भने कतिपयले आकांक्षा मात्रै देखाएका छन् । सत्तारुढ गठबन्धनमा दुई जना नेता यस्ता छन्, जसलाई भावी मुख्यमन्त्री बनाउने बाचा गर्दै शिर्ष नेताहरुले प्रतिनिधिसभाबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएका छन् ।
ती हुन् नेपाली कांग्रेसका दिवानसिंह विष्ट र नेकपा माओवादी केन्द्रका खगराज भट्ट । २०७० सालमा संविधानसभा सदस्यको चुनावमा माओवादी केन्द्रकी बिना मगरलाई पराजीत गरेका दिवानसिंह विष्ट यसपटक फेरी प्रतिनिधिसभाको चुनाव लड्न चाहान्थे । अघिल्लो २०७४ सालको चुनावमा प्रतिनिधिसभा सदस्यमा उनै मगरसँग पराजीत विष्टलाई सत्तारुढ गठबन्धनले भने कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२) को उम्मेदवारी बनाएको छ ।
गठबन्धनका नेताहरुले उनलाई प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएको चर्चा छ । माओवादी अध्यक्ष प्रचण्डकी बुहारी मगरलाई प्रतिनिधिसभामा व्यवस्थापन गर्न विष्टलाई मुख्यमन्त्रीको आश्वासन दिएर प्रदेशसभामा ल्याइएको छ । यो कुरा विष्ट पनि स्वीकार गर्छन् ।
‘दुई–दुई पटक प्रतिनिधिसभाको चुनाव लडेर सांसद भइसकेको मलाई प्रदेशसभामा लड्ने इच्छा थिए तर मेरो दाबीअनुसार सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने समझदारीअनुसार प्रदेशसभामा उम्मेदवारी दिएको हुँ । ’ विष्टले प्रेसपत्रसँग भने । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको समेत साथ पाएका विष्ट चुनाव जित्नेमा विश्वस्त छन् । गठबन्धन भएकै कारण उनी सुरक्षित पनि देखिन्छन् ।
सत्तारुढ गठबन्धनमै आवद्ध नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई पनि शिर्ष नेताहरुले मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेशसभाको उम्मेदवार बनाएका छन् । २०६४ सालदेखि प्रधानमन्त्री देउवासँग चुनाव लड्दै आएका खगराज प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने मुडमा थिए तर मुख्यमन्त्री बनाउने आश्वासनपछि नै प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको नेताहरु बताउँछन् ।
उनी डडेल्धुराको प्रदेशसभा (२) मा उम्मेदवा छन् । भट्ट मत माग्न निर्वाचन क्षेत्रमा व्यस्त छन् । भट्टले पनि गठबन्धनका नेताहरुबीचको सहमतीअनुसार आफू अगामी चुनावपछि प्रदेशको मुख्यमन्त्री बन्ने दाबी गर्दै आएका छन् ।
‘त्यो विषयमा छलफल चलेको छ । अगामी चुनाव जितेर प्रदेश सरकारको नेतृत्व गर्छु,’ भट्टले भने । २०६४ सालको संविधानसभा निर्वाचनदेखि २०७४ सम्मको प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवालाई टक्कर दिदै आएका भट्टलाई नेपाली कांग्रेस र नेकपा समाजवादीले समेत साथ दिएकाले उनी पनि सुरक्षित छन् ।