सुदूरपश्चिमका पूर्वाधार मन्त्री सोडारीलाई पनि आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

cp new add
Nisharg hospital

४ कात्तिक, धनगढी । लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुुर सोडारीलाई पनि स्पष्टीकरण मागेको छ ।

कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका कांग्रेस प्रदेश सभापति बिरबहादुर बलायरसँगै ४ को (क) का एकीकृत समाजवादीका उम्मेदवार दीर्घ सोडारी र माओवादी केन्द्रका केन्द्रीय सदस्य लछीराम आचार्यलाई स्पष्टीकरण सोधेको हो ।

बिहीबार कैलालीको क्षेत्र नम्बर ४ (क) मा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीहरुले आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ ।

‘तपाईंहरूले कैलालीको प्रदेशसभा क्षेत्र नं. ४ (क) मा बिहीबार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारीहरू उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको सूचना र सोलाई पुष्टी गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईंले उक्त अभिव्यक्ति दिनुभएको होइन भन्ने आधार र प्रमाण के छ’, आयोगले लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले सार्वजनिक मञ्चमा दिनुभएको लाञ्छनापूर्ण अभिव्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ढ) को उल्लंघन हुन गएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ?’

उनीहरुलाई निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय, कैलालीमा स्पष्टीकरण पेश गर्न भनिएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ढ) मा निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी कुनै अवाञ्छित लाञ्छना लगाउन नहुने व्यवस्था छ ।

बिहीबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता बलायरले निर्वाचन आयोगका पदाधिकारीलाई केपी ओलीको इशारामा चलेको आरोप लगाएका थिए ।

‘नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले रौतहटको चुनावी सभालाई सम्बोधन गर्दै बोलेको सामान्य शब्दलाई लिएर निर्वाचन आयोगले पत्र काट्यो । हामीले इमानदारीपूर्वक निर्वाचन आयोगको आचारसंहितामा हस्ताक्षर गरेका छौँ । उल्लङ्घन गर्दैनौँ र गर्न पनि दिँदैनौँ’, बलायरले बिहीबारको चुनावी सभामा भनेका थिए, ‘तर, केपी ओलीको इशारामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्छृङ्खल गतिविधि गर्दैछन् ।’

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...