
९ कात्तिक, धनगढी । नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले अगामी निर्वाचनबाट जनताले एमालेलाई सबैभन्दा ठूलो दलका रुपमा अनुमोदन गर्ने बताएका छन् । भण्डारीले सुदूरपश्चिम प्रदेशमा समेत प्रतिनिधिसभा र प्रदेशसभातर्फ एमाले नै पहिलो दल बन्ने भण्डारीको दाबी छ ।

बैतडीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका भण्डारीले मंसिर ४ पछि एमालेले नै संघीय र प्रदेश सरकारहरुको नेतृत्व गर्ने बताउदै सुदूरपश्चिममा पनि एमालेकै नेतृत्वमा सरकार बन्ने बताए । ‘अगामी निर्वाचनमा सुदूरपश्चिममा हामी पहिलो पार्टी भएर प्रतिनिधिसभामा यहाँबाट सबभन्दा बढि प्रतिनिधित्व हुनेछ,’ भण्डारीले प्रेसपत्रसँग भने, ‘प्रदेशसभामा पनि सबैभन्दा ठूलो पार्टीका रुपमा जनताले अनुमोदन गर्नेछन् र हामी सरकार बनाउनेछौँ ।’
हेर्नुस् भिडियो
एमाले पाँच दलीय गठबन्धनको घेराबन्दीमा परेका बेला पहिलो शक्ति बन्ने कुरा चुनौतीपूर्ण छैन र ? भन्ने जिज्ञाशामा भण्डारीले दलहरुले गठबन्धन गरेपनि जनताले एमाले नै रुचाएको दाबी गरेका छन् । उनले गठबन्धनमा आवद्ध भनिएका दलका कार्यकर्ता स्वयंमले समेत नरुचाएकाले निर्वाचनबाट नै उनीहरुले जवाफ दिने टिप्पणी गरे ।
‘यो गठबन्धन आजको आवश्यकता होइन । नेपाली कांग्रेस कांग्रेस जस्तो छैन । आफ्नो नीति, नेतृत्व संगठनमा विश्वास गरिरहेको छैन । माओवादीमा त्यस्तै छ । त्यसैले कांग्रेसलाई कांग्रेस बनाउन, माओवादीलाई माओवादी बनाउन गठबन्धनलाई परास्त गर्न दुवै पार्टी तयार हुनुपर्छ,’ भण्डारीले भने ।
मंसिर ४ पछि अस्ताउदै गरेका कांग्रेस सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने परस्थिती बन्ने पनि भण्डारीको तर्क छ । ‘असफल सत्ताबाट आफैले राजीनामा गरेर स्वार्थको राजनीति गरिरहेका माधव नेपाल, झलनाथ खनालहरुका कारण कम्युनिष्ट आन्दोलन धरमराएको छ । यसलाई गति दिएर राष्ट्रिय स्वाधिनता, जनताका आकांक्षा पूरा गर्ने, सामाजिक न्यायका लागि एमाले जित्न आवश्यक छ । हाम्रो पार्टीको नीति, संगठन र विचारको बलबाट चुनाव जितेर गठबन्धनलाई परास्त गर्नेछौँ ,’ उनले भने ।
उनले गठबन्धनभित्रको चरम असन्तुष्टि र विद्रोहले पनि एमालेलाई थप उर्जा थपेको समेत बताएका छन् । सुदूरपश्चिमको गरिबी , पर्छौटेपनको अन्त्यका लागि एमालेलाई जिताउन आवश्यक रहेको उनको भनाई थियो ।

