


बाजुरा । बाजुरामा युुवतीमाथि भान्छाकोठामै चक्कु प्रहार गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका–४ वाईमा अज्ञात समूहले ३६ वर्षीया ठुमरा बिष्टमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
बिष्टमाथि आइतबार राति करिब साढे १ बजे सुतिरहेको अवस्थामा २–३ जनाको अज्ञात समूहले उनलाई भान्साघरमा बोलाएर घाँटीको बायाँ भागमा चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट प्रहरी निरीक्षक चन्द्रसिंह कठायतको नेतृत्वमा टोली खटिएको थियो। प्रहरी टोलीले घाइते बिष्टको उद्धार गरी कोल्टी आधारभूत अस्पताल पु¥याएको थियो।
अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्जस्थित अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको र खोजतलास तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

