


धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सुदूरपश्चिमका पदाधिकारी सर्वसम्मत चयन भएका छन् । मतदान प्रक्रियामार्फत सभापतिमा इन्जिनियर प्रकाश विष्ट ३५८ मतसहित विजयी भएपछि अन्य पदाधिकारी भने सर्वसम्मत चयन गरिएका छन् ।
उपसभापतिमा भोजराज जोशी, महामन्त्री सन्तोश जोशी, सहमहामन्त्रीमा जसु भट्ट, पारस बाहुन, प्रवक्तामा तेज ठकुल्ला र कोषाध्यक्षमा गणेश बोहरा सर्वसम्मत भएका छन् । सर्वसम्मत भएका मध्ये पारस बाहुन भने यसअघि पार्टीको प्रदेश महामन्त्री भइसकेका व्यक्ति हुन् ।
पार्टीभित्र अनावश्यक गुटबन्दी गरेर नेतृत्वलाई असफल बनाउन लागेको भन्दै बाहुनलाई २०८१ को भदौमा रास्वपाले महामन्त्रीबाट बर्खास्त गरेको थियो । त्यसयता पार्टीको कार्यकारी भूमिका बाहिर रहेका बाहुन फेरि प्रदेश महामन्त्रीको दौडमा थिए ।
नवनिर्वाचित सभापति इन्जिनियर प्रकाश विष्टविरुद्ध सुरुदेखि नै गुुट चलाउदै आएको आरोप लागेका बाहुन यो महाधिवेशनबाट फेरि महामन्त्रीमा कमब्याक हुन चाहान्थे । तर, महाधिवेशन प्रतिनिधिले प्रदेश सभापतिमा भारी मतले फेरि विष्टलाई जिताएपछि उनी पछि हटेका छन् ।

डडेल्धुरा भूगोल सदस्यमा नवराज भण्डारीले चुनौती दिदै झन्डै हराइसकेका बाहुनले महामन्त्रीमा दाबी गरेका थिए । तर परस्थिती अनुकुल नदेखिएको आकलन गर्दै उनी ब्याक भए । भर्खरै मात्र रास्वपा प्रवेश गरेर पूर्व पत्रकार पनि रहेका भण्डारीले बाहुनलाई चुनौती दिदै १९१ मत पाएका थिए । बाहुन २४१ मत पाएर विजयी भए । पार्टीको महामन्त्री भइसकेका व्यक्तिलाई नवप्रवेशी नेताले चुनौती दिएपछि उनको लोकप्रियतामाथि प्रश्न उठाइएको थियो ।
अर्को रोचक कुरा के छ भने, उनकै डडेल्धुरा भूगोलका नेताहरुले महामन्त्रीमा सन्तोश जोशीलाई सघाउने रणनीति बनाएपछि बाहुन संकटमा परे । गुट चलाउने आरोप खेपेका बाहुनले भूगोलकै साथ नपाइने देखेपछि सुटुक्क पार्टी सभापति विष्टलाई एक्लाएक्लै भेटेर सहमहामन्त्री भएपनि बनाइदिन अनुरोध गर्दै महामन्त्रीको दाबीबाट पछि हटेका थिए ।
फलतः अहिले रास्वपाले एक पद घटुवा गर्दै बाहुनलाई सहमहामन्त्री बनाएको छ । पद घटुुवा गरि सहमहामन्त्री बनाइएपछि महामन्त्रीमा कमब्याक गर्ने बाहुनको योजनामा ब्रेक लागेको छ । रास्वपा स्रोतकाअनुसार मतदान प्रक्रियाअघि बाहुनलाई उपसभापति प्रस्ताव गरिएको थियो । तर, उनले जसरी पनि महामन्त्री चाहिने भन्दै अड्डी कसेपछि सभापति पदमा चुनाव भएको थियो ।

