एमाले सुदूरपश्चिममा पार्टी पुनर्गठनको माग बलियो, कसले के भन्यो ?

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा पार्टीको सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। शनिबार धनगढीमा आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेलको उपस्थिति रहेको थियो।

प्रदेश कमिटीको आयोजनामा भएको कार्यक्रम करिब १३ घण्टासम्म सञ्चालन भएको थियो। कार्यक्रममा सहभागी अधिकांश जिल्ला अध्यक्ष, प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पार्टी पुनर्गठन आवश्यक रहेको धारणा राखेका छन्।

सुझाव संकलनअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट नेताहरूलाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले विभिन्न मानसिकता बोकेर आएका व्यक्तिहरूलाई धेरै महत्व नदिन आग्रह गर्दै नेताहरूलाई आफ्ना धारणा खुलस्त रूपमा राख्न अनुरोध गरेका थिए।

तर कार्यक्रममा सहभागी एक नेताका अनुसार अधिकांश वक्ताहरूले नेतृत्वदेखि संगठन संरचनासम्म पुनरावलोकन आवश्यक रहेको धारणा राखेका थिए।

बैठकमा डडेल्धुरा बाहेक सुदूरपश्चिमका अन्य आठ जिल्लाका अध्यक्ष सहभागी थिए। कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुंगानाले अध्यक्ष ओलीकै सहमतिमा पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका थिए। यद्यपि उनका अधिकांश सहकर्मी पदाधिकारीहरूले संगठनात्मक पुनर्गठनको पक्षमा मत व्यक्त गरेका थिए।

डोटी जिल्ला अध्यक्ष मञ्जु मलासीले वर्तमान अवस्थामा अध्यक्ष ओलीको विकल्प खोज्ने प्रयास उचित नहुने बताउँदै नेतृत्व क्षमताका हिसाबले उनी नै उपयुक्त रहेको धारणा राखिन्। तर अन्य धेरै नेताहरूले पार्टी संरचनामा व्यापक सुधार आवश्यक रहेको बताएका थिए।

अछाम, बाजुरा र डडेल्धुराबाट लिखित प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो। दार्चुला जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीले पार्टी एकता जोगाउनुपर्नेमा जोड दिँदै कुनै पनि विभाजनकारी गतिविधि स्वीकार्य नहुने बताएका थिए।

बझाङका अधिकांश पदाधिकारीले पुनर्गठनको पक्षमा धारणा राखे पनि प्रतिनिधिसभाका प्रमुख सचेतक ऐनबहादुर महरले पार्टीको संस्थागत निर्णयलाई नै आधार मान्नुपर्ने बताएका थिए।

कार्यक्रममा कतिपय नेताहरूले अध्यक्ष मात्रै नभई वडा तहदेखि केन्द्रीय कमिटीसम्म संगठन पुनर्गठन गर्नुपर्ने धारणा राखे। अछाम जिल्ला अध्यक्ष शिवप्रसाद उपाध्यायले लिखित प्रतिवेदनमार्फत वडा तहसम्म पुनर्गठनको माग प्रस्तुत गरेका थिए। प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीलगायतका नेताहरूले पनि संगठनात्मक सुधार र पुनर्गठनमा जोड दिएका थिए।

केन्द्रीय सदस्यहरू पनि पुनर्गठनको पक्षमा

सुझाव संकलन कार्यक्रममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले पनि आफ्नो धारणा राखेका थिए। युवा नेता नरेश रोकाया र गोविन्द गिरीले पार्टीभित्र व्यापक पुनर्गठन आवश्यक रहेको भन्दै स्पष्ट धारणा व्यक्त गरेका थिए।

उनीहरूले अध्यक्ष मात्रै नभई समग्र पार्टी संरचनाको समीक्षा र पुनर्गठन आवश्यक रहेको बताएका थिए। नेता कर्णबहादुर थापा, दामोदर भण्डारी, कमला ओली, सन्तोष शर्मा थापा तथा गौरीशंकर चौधरीलगायतले पनि संगठनात्मक पुनर्गठनको पक्षमा विचार राखेका थिए।

यता प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्नाले पार्टी एकता कायम राख्नुपर्नेमा जोड दिएका थिए भने बाजुराका लालबहादुर थापाले पार्टीको वर्तमान अवस्थाको जिम्मेवारी नेतृत्व तहका सबै व्यक्तिले लिनुपर्ने बताएका थिए।

कार्यक्रममा सहभागी केन्द्रीय नेताहरूले भने जिल्लादेखि केन्द्रसम्मका नेताहरूको धारणा सुन्नेमै सीमित रहे। उनीहरूले कार्यक्रममा कुनै औपचारिक प्रतिक्रिया वा धारणा सार्वजनिक गरेनन्।

Telecome
Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...