
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । सुदूरपश्चिमको अछाम घर भएका भूूपदेव शाह प्रधानमन्त्री बालेन समूहबाट महामन्त्री बन्ने दौडमा छन् ।

रास्वपाको महाधिवेशनले सुदूरपश्चिम भूगोलबाट ५ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ भने खुलामा पनि प्रतिस्पर्धा गर्न सकिनेछ । केन्द्रीय सदस्यमा बहालवाला सांसददेखि तत्कालीन जेनजी आन्दोलनका अभियान्ता समेतले दाबी गरेका छन् ।
केन्द्रीय सदस्यमा कैलाली–५ का सांसद आनन्द बहादुर चन्द, कैलाली–२ का केपी खनाल, कञ्चनपुर–३ का ज्ञानेन्द्र महता, डडेल्धुराका सांसद डा. ताराप्रसाद जोशीले दाबी गरिरहेका छन् । यस्तै, बाजुराका हेमराज थापा, अछामका खेमराज साउद, डडेल्धुराका विजय जैरु, धनगढीका शैलेश सिंह, कैलालीकी करिश्मा कठरीया पनि दौडमा छन् ।
कैलालीकै जानिका जोशी, कञ्चपुरकी चन्द्रा ऐर चाँदनीले केन्द्रीय सदस्य दाबी गरेकी छन् । डडेल्धुराका दिपक बोहराले भूपदेव शाहलाई काउन्टर दिन महामन्त्रीमा दाबी गरेको बताइएको छ । तर, उनी सहमहामन्त्रीको बार्गेनिङमा लागेको बताइन्छ । सहमहामन्त्री नभएपछि बोहरा पनि केन्द्रीय सदस्यकै उम्मेदवार हुने देखिन्छ ।

