
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र आसपासको क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थापछि नेपाली सेनाले बुधबार हवाई गस्ती गरेको छ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सुरक्षा अवस्था तथा वस्तुस्थिति बुझ्न सेनाले हवाई गस्ती गरेको हो। उनका अनुसार बुधबार दिउँसोसम्म सुनसरीको अवस्था शान्त रहेको छ।
कर्फ्यु आदेश जारी भएसँगै नेपाली सेना फिल्डमा परिचालन गरिएको थियो। सेनाले पैदल र हवाई दुवै माध्यमबाट गस्ती गर्दै शान्ति सुरक्षा कायम राख्ने प्रयास गरिरहेको बस्नेतले बताए।
यता नेपाल प्रहरीले पनि ड्रोनमार्फत कप्तानगञ्ज क्षेत्रको सुरक्षा अवस्थाको अनुगमन गरिरहेको जनाएको छ।
देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार दुई समूहबीच विवाद भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
सुरक्षा निकायका अनुसार एउटा पक्षले झण्डा नहटाएको र अर्को पक्षले चर्को आवाजमा डिजे बजाएको विषयमा सुरु भएको विवाद झडपमा परिणत भएको थियो। स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्ने क्रममा गोली लागेर मेहताको मृत्यु भएको सुरक्षा निकायको दाबी छ।
घटनामा एक जनाको मृत्यु हुनुका साथै नौ जना सर्वसाधारण घाइते भएका थिए। त्यसपछि उत्पन्न तनाव मंगलबार साँझ पुनः झडप, तोडफोड र आगजनीमा परिणत भएको थियो। अहिले भने सुरक्षा व्यवस्था कडा पारिएसँगै क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको सुरक्षा निकायले जनाएको छ।

