काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा फरार रहेका एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कर्मा तामाङ रहेका छन्। प्रहरीका अनुसार शनिबार राति करिब १०ः३० बजे उनलाई पक्राउ गर्ने क्रममा उनले खुकुरी प्रहार गरेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए।
त्यसपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउण्ड गोली चलाएको जनाएको छ। गोली लागेर घाइते भएका तामाङलाई नियन्त्रणमा लिइएको छ। घटनास्थलबाट एक थान खुकुरी पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।