
काठमाडौं । पूर्वस्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई सुधार गर्दै निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन्। सरकारले स्वास्थ्य बिमालाई नाफा–घाटाको दृष्टिकोणबाट हेर्दा लाखौं नागरिकको ज्यान जोखिममा परेको उनको भनाइ छ।

बुधबार भिडियो सन्देश जारी गर्दै पौडेलले स्वास्थ्य बिमामार्फत उपचारमा कठिनाइ, सेवा दायरा साँघुरिएको तथा बिमितले सहज रूपमा सेवा पाउन नसकेको गुनासो बढिरहेको उल्लेख गरे। उनले सरकारलाई प्रश्न गर्दै भने, ‘नागरिकको ज्यानलाई नाफा र घाटाको तराजुमा जोख्न मिल्छ’?
पौडेलले स्वास्थ्य बिमा सुरु गर्नुको उद्देश्य आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित नहोस् भन्ने रहेको स्मरण गराउँदै पछिल्लो समय सरकारका जिम्मेवार व्यक्तिहरूले नै कार्यक्रमप्रति नकारात्मक अभिव्यक्ति दिन थालेको बताए।
सरकारका केही जिम्मेवार व्यक्तिले ‘३५ सय रुपैयाँ शुल्क लिएर कसरी एक लाख रुपैयाँसम्मको सेवा दिन सकिन्छ’ भन्ने टिप्पणी गरेको उल्लेख गर्दै उनले राज्यले नागरिकलाई दिने सेवा वा सहुलियतलाई नाफा–घाटाको हिसाबले मात्रै मूल्याङ्कन गर्न नहुने बताए। राज्य र व्यापारीबीचको मुख्य भिन्नता नै नागरिकको हितलाई प्राथमिकता दिनु भएको उनको तर्क छ।
आफू स्वास्थ्य मन्त्री रहँदा स्वास्थ्य बिमा कार्यक्रम सुधारका लागि विभिन्न पहल गरिएको स्मरण गर्दै उनले सेवा दायरा पाँच लाख रुपैयाँसम्म विस्तार गर्ने आधार तयार गरिएको, मिर्गौला प्रत्यारोपणका लागि आठ लाख रुपैयाँसम्मको सुविधा उपलब्ध गराइएको तथा सबै स्थानीय तहमा सेवा विस्तार गर्ने काम अघि बढाइएको बताए। बिमितले आफू बसेकै स्थानबाट सेवा लिन सक्ने व्यवस्था पनि गरिएको उनको भनाइ छ।
पौडेलले आफू मन्त्री हुँदा गठन गरिएको डा। शम्भु आचार्य नेतृत्वको समितिको प्रतिवेदनका मुख्य सिफारिस कार्यान्वयन गरे स्वास्थ्य बिमाका अधिकांश समस्या समाधान हुने दाबी गरे। स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी, दीगो र नागरिकमैत्री बनाउँदै निरन्तरता दिन उनले सरकारसँग आग्रह गरेका छन्।

