
काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयकमा आमालाई ६ महिना प्रसूति बिदाको प्रस्ताव गरिएको छ । विधेयकमा बुबालाई ४२ दिन बिदाको प्रस्ताव गरिएको छ ।
कानुनमन्त्री सोविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भएको बताउँदै यस्तो जानकारी दिएकी हुन् । उनले विधेयक तयार भएको र अब मन्त्रिपरिषद् हुँदै सदनमा लैजाने तयारीमा सरकार रहेको बताएकी छन् ।
“आजको व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेका छन् । जीवनमा एक वा दुईपटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी पनि हो,” मन्त्री गौतमले फेसबुकमा लेखेकी छन् ।
उनले यसलाई सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा एक महत्त्वपूर्ण नीतिगत परिवर्तन भनेकी छन् । उनी अगाडि लेख्छिन्, “बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन ।”

