
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै प्रस्तावित दुईवटा महाधिवेशन रोक्न मध्यमार्गी र समझदारीपूर्ण बाटो खोज्न आग्रह गरेका छन्।
बिहीबार जारी गरेको प्रेस वक्तव्यमार्फत कोइरालाले कांग्रेसको आन्तरिक विभाजनले पार्टीको संगठनमा मात्र नभई नेपालको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत असर पार्न सक्ने बताएका हुन्। उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
कोइरालाले घोषित दुई महाधिवेशन रोक्दै सबै पक्षबीच संवाद र सहमतिबाट निकास खोज्नुपर्ने बताएका छन्। पार्टीभित्रको पछिल्लो अवस्थाप्रति आफू दुःखी रहेको उल्लेख गर्दै उनले आफ्नो भावनासँग कांग्रेसका धेरै नेता तथा कार्यकर्ताको भावना जोडिएको दाबी गरेका छन्।
उनले कांग्रेस अहिले विभाजित र दिशाहीन अवस्थामा पुगेको टिप्पणी गरेका छन्। पार्टीले आफ्नो ऐतिहासिक विरासतअनुसार राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
कोइरालाले पार्टीभित्रको विवादका कारण विपद्बाट प्रभावित नागरिकप्रति कांग्रेसले पर्याप्त ध्यान दिन नसकेको बताएका छन्। रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा भएका विपद्बाट प्रभावित नागरिकको पीडाप्रति संवेदनशील हुन उनले पार्टी नेतृत्व र कार्यकर्तालाई आग्रह गरेका छन्।
चाडपर्वको समयमा परिवारका सदस्य तथा आफन्त गुमाएका नागरिकको पीडालाई प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले पार्टीको आन्तरिक विवादभन्दा मानवीय संवेदना महत्वपूर्ण रहेको बताएका छन्।
पार्टी विधान र कानुनी व्यवस्थालाई मात्र आधार बनाएर मानवीय संवेदनालाई बेवास्ता गर्न नहुने उनको भनाइ छ। सहमति, सहकार्य र एकताका माध्यमबाट विपद्पीडित नागरिकको घाउमा मलम लगाउने दायित्व कांग्रेसको रहेको उनले उल्लेख गरेका छन्।
कोइरालाले पार्टीभित्र को सही र को गलत भन्ने पक्षमा आफूले वकालत नगर्ने स्पष्ट पारेका छन्। साथीहरूमाथि असुरक्षा, अपमान वा घृणाको वातावरण सिर्जना गरेर पार्टी अघि बढाउने विषय आफूलाई स्वीकार्य नभएको उनले बताएका छन्।
उनका अनुसार कांग्रेसभित्र एक पक्षको हार र अर्को पक्षको जितलाई मात्र पार्टीको विजयका रूपमा प्रस्तुत गर्नु पार्टीको संस्कारसँग मेल खाँदैन।
विश्व राजनीतिमा भइरहेका परिवर्तनले नेपालमा समेत प्रभाव पारिरहेको अवस्थामा राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्यको संरक्षणलाई प्राथमिकता दिनुपर्ने कोइरालाले बताएका छन्। उनले पार्टीको एकतालाई राष्ट्र निर्माणसँग जोडेर हेर्नुपर्ने धारणा राखेका छन्।
मध्यमार्ग अपनाउन कठिन भए पनि त्यही बाटो कांग्रेसको मूल्य र मान्यतासँग मेल खाने कोइरालाको भनाइ छ। उनले आफूले पार्टीभित्र आरोप–प्रत्यारोप गर्नेभन्दा संवाद र सहमतिका माध्यमबाट समाधान खोज्न पहल गरिरहने बताएका छन्।
यसअघि पनि कोइरालाले पार्टी एकता कायम नभएसम्म कुनै पनि पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने धारणा सार्वजनिक गरेका थिए।
उनले देशभर रहेका कांग्रेस नेता तथा कार्यकर्तालाई पार्टीलाई एकताबद्ध राख्ने अभियानमा सहभागी हुन आग्रह गरेका छन्। आफू पनि कांग्रेस एकताको प्रयासमा निरन्तर लागिरहने कोइरालाले बताएका छन्।

