
धनगढी । सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र रामारोशन, बडिमालिका र खप्तडको योजनाबद्ध विकासले प्रदेशको आर्थिक समृद्धिको आधार तयार गर्न सकिने नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् ।
बिहीबार टीकापुरमा रामारोशन विकास केन्द्रको प्रथम साधारण सभाको उद्घाटन गर्दै शाहले यी तीनवटै क्षेत्रको विकासलाई जनताको आर्थिक उन्नतिसँग जोड्नुपर्ने बताए ।
धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, प्रचारप्रसार र प्रवर्द्धनमार्फत स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सकिने उनको भनाइ थियो ।
शाहले राष्ट्रिय एकता, अखण्डता, सामाजिक सद्भाव र एकता कायम राख्दै ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा मौलिक परम्परा र संस्कारको संरक्षण तथा संवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
सुदूरपश्चिमको पहिचान र सम्भावनासँग जोडिएका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि राज्य, स्थानीय समुदाय र सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनले बताए ।
रामारोशन विकास केन्द्रका अध्यक्ष दिनेशकुमार शाहको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वसामाजिक विकासमन्त्री झपटबहादुर साउँदलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

