
धनगढी । धनगढीमा भारतबाट फर्किने महिलाबाट तोकिएको भन्दा बढि भाडा असुलेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।
भारतबाट नेपाल फर्किंदै गरेकी डोटीकी धर्मा भुलसँग ४० रुपैयाँ भाडा पर्नेमा एक हजार चार सय ५० भारतीय रुपैयाँ भाडा असुल गरेको आरोपमा कैलाली प्रहरीले अटो चालक र उनका सहयोगीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका–२ का ३० वर्षीय अटो चालक अर्जुन जोशी र धनगढी–१ का २४ वर्षीय आसिष पार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनकाअनुसार धनगढी उपमहानगरपालिका–२ त्रिनगरस्थित सीमा क्षेत्रबाट बढी भाडा असुल गरेको भेटिएपछि पक्राउ गरिएको हो ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

