
धनगढी । लगातारको वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा सार्वजनिक सवारी साधनको आवागमनमा रोक लगाइएको छ।
डडेल्धुरा, दार्चुला, डोटी, बैतडी र बाजुरा जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका हुन्।
बाजुरामा शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको र पछिल्लो मौसमी अपडेटमा जिल्ला अति जोखिमयुक्त सूचीमा परेकाले जिल्लाभर सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी डारेन्द्र निरौलाका अनुसार असोज ११ गते बिहान ७ बजेसम्म आकस्मिक अवस्थाबाहेक कुनै पनि सवारी सञ्चालन नगर्न आग्रह गरिएको छ।
लगातारको वर्षापछि सम्भावित विपद्लाई मध्यनजर गर्दै बाजुरामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उच्च सतर्कतामा राखिएको छ। उद्धार टोली, स्वयंसेवक तथा आवश्यक उपकरण तयारी अवस्थामा राख्न नौवटै स्थानीय तहलाई समेत निर्देशन दिइएको छ। प्रशासनले जारी गरेको ‘विपद् प्रतिकार्य योजना–२०८३’ अनुसार जिल्लाका एक सय ५० भन्दा बढी गाउँ तथा नौवटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका छन्।
यस्तै, डडेल्धुरामा बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म, दार्चुलामा आजदेखि भोलि बिहान ६ बजेसम्म तथा डोटी र बैतडीमा बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयहरूले अत्यावश्यक तथा आकस्मिक अवस्थामा स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न तथा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

