
काठमाडौं । निरन्तर वर्षाका कारण देशका विभिन्न जिल्लामा आज आकस्मिक बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार २८ जिल्लाका स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र ती जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
उच्च जोखिममा गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, डोल्पा, जाजरकोट, रुपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला, डडेलधुरा र आसपासका जिल्ला रहेका छन्।
त्यस्तै ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, दाङ, अर्घाखाँची, रुकुम पूर्व, रुकुम पश्चिम, प्युठान, रोल्पा, सल्यान, जुम्ला, कालीकोट, दैलेख, बाजुरा, अछाम, बझाङ, दार्चुला र बैतडीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोसी, नारायणी र तिनका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा माथि छ। वाग्मती, पश्चिम राप्ती, बबई तथा तिनका सहायक नदीमा बहाव सतर्कता तहनजिक पुगेको छ।
महाशाखाले नदी तथा खोलाको जलसतह बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।


