
निरन्तरको वर्षापछि गएको पहिरोले पाल्पामा दुई घर पुरिएका छन्। पहिरोमा परी एक महिला बेपत्ता भएकी छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शुक्रबार दिउँसो पौने ३ बजे रिब्दीकोट गाउँपालिका–६, धुस्तुङमा पहिरो खस्दा स्थानीय केसुराम सारु मगर र रामबहादुर उचईका ढुंगा, माटो र जस्ताले बनेका तीनतले दुई घर पुरिएका हुन्। पहिरोले घर पुरिँदा केसुरामकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु बेपत्ता भएकी प्रहरीले जनाएको छ।
सात गतेदेखि निरन्तर वर्षा भइरहेको र घरमाथिको मोटरबाटोबाट ढुंगा, माटोसहितको लेदो बगिरहेकाले तत्काल उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
बेपत्ता कृष्णकुमारीको खोज तथा उद्धारका लागि स्थानीयवासी र सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

