
डोटी । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारमा कामदार बोकेको ट्रयाक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
बिहान ८ः४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९१० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई भीमदत्त राजमार्गबाट करिब १२० मिटर तल खसेर दुर्घटना भएको हो।
ट्रयाक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए। दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी घण्टेश्वरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा जोरायल–१ चपरचानीका ३३ वर्षीय अमर सिजाली मगर, ४६ वर्षीय डम्बर थापा, १८ वर्षीय भरत थापा मगर र १८ वर्षीय विवस थापा मगर, गोगनपानीका ५२ वर्षीय जितबहादुर विक, धानाकोटका ३२ वर्षीय रुपलाल विक र ३२ वर्षीया अनिषा विक, सपुरसानीका ३५ वर्षीय हर्कबहादुर थापा मगर तथा भानाकोटकी अनिषा विककी ३ वर्षीया छोरी करिश्मा विक रहेका छन्।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

