नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आजै मतगणना गर्ने तयारी

cp new add
Nisharg hospital

काठमाडौं । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रिय कार्यसमिति चयनका लागि शुक्रवार बिहानैबाट मतदान शुरु भएको छ ।

प्राविधिक तयारी र प्रतिकूल मौसमका कारण बिहीवार स्थगित गरिएको मतदान प्रक्रिया शुक्रवार बिहानबाट सुचारु भएको हो । करिव ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिहरू आफ्नो मताधिकार प्रयोग गर्न बिहानैदेखि मतदान केन्द्रमा लामवद्ध भएका छन् ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार मतदान आज अपराह्न ३ बजेसम्म जारी रहनेछ । मतदानलाई व्यवस्थित बनाउन सातवटा प्रदेश र विभिन्न समूहका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ । गण्डकी प्रदेशका प्रतिनिधि शोभाकान्त बरालले पहिलो मत खसालेर शुरु भएको मतदान प्रक्रियालाई पारदर्शी बनाउन निर्वाचन समितिले कडा सुरक्षा र आचारसंहिता लागू गरेको छ ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काकाअनुसार मतदाताको सहजता र सुरक्षालाई मध्यनजर गर्दै मतदानको समय सारिएको हो । मतपत्रको संख्या ठूलो भएकाले ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था गरिएको छ । यस्तै स्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान पूर्ण रूपमा रोक लगाइएको छ ।

मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र र नामावली अनिवार्य रूपमा रुजु गरिनेछ । महाधिवेशन एक दिन लम्बिएपछि उत्पन्न हुनसक्ने खर्चको भारलाई मध्यनजर गर्दै आर्थिक व्यवस्थापन समितिले शुक्रवारको आवास र खाना खर्च पार्टीले नै व्यहोर्ने निर्णय गरेको छ । यसले प्रतिनिधिहरूमा थप उत्साह थपेको छ । १५ औँ महाधिवेशनमार्फत काँग्रेसले विधान संशोधन गरी २९७ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति चुन्न लागेको हो ।

मतदान सकिएलगत्तै मतपेटिकाहरू सुरक्षित रूपमा व्यवस्थापन गरी आजै मतगणना शुरु गर्ने समितिले तयारी गरेको छ । सभापतिलगायतका पदाधिकारीमा कडा प्रतिष्पर्धा रहेकाले यसपटकको महाधिवेशनको नतिजालाई पार्टीको भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण कडीका रूपमा हेरिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...