
काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको मतदानको मतगणनाका क्रममा मतदाताले मतपत्रमै लेखेका दुई रोचक टिप्पणी फेला परेका छन् ।
शुक्रबार राति राष्ट्रिय सभागृहमा भएको मतगणनाका क्रममा दुई फरक मतपत्रमा मतदाताले आफ्नो सुझाव र असन्तुष्टि व्यक्त गरेको पाइएको हो ।
मतगणनामा सहभागी स्रोतका अनुसार एउटा मतपत्रमा नवनिर्वाचित सभापति गगन थापालाई लक्षित गर्दै ‘शेरबहादुर स्टाइलमा नजानुहोला’ लेखिएको थियो । अर्को मतपत्रमा भने ‘कार्यसमिति धेरै भयो हजुर’ भन्दै टिप्पणी गरिएको थियो ।
स्रोतले मतपत्र गणना गर्ने क्रममा ती टिप्पणी फेला परेको जानकारी दिँदै मतदाताले मतपत्रमार्फत आफ्नो सुझाव र असन्तुष्टि व्यक्त गरेको बताएको छ । यद्यपि, ती मतपत्रमा कुन उम्मेदवारको पक्षमा मतदान गरिएको थियो भन्नेबारे स्रोतले खुलाएन ।
केन्द्रीय निर्वाचन समितिले दुवै मतपत्र बदर गरेको थियो । समितिका अनुसार सभापति पदका लागि खसेको कुल ७ हजार १३ मतमध्ये ६ हजार ९५९ मत सदर भएका थिए भने ५४ मत बदर भएका थिए ।
शुक्रबार राति सम्पन्न मतगणनामा प्रतिस्पर्धी उम्मेदवार श्यामकृष्ण खड्गीलाई पराजित गर्दै गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन् । थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाएका थिए ।

