


विराटनगर । मोरङको केराबारीस्थित जंगलमा मृत फेला परेका विराटनगरका रेस्टुरेन्ट सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।


फिजफायर रेस्टुरेन्टका सञ्चालक खत्रीको मृत्यु प्रकरणमा सोही रेस्टुरेन्टमा कार्यरत झापाकी २७ वर्षीया युवतीलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो। उनी विगत ४–५ वर्षदेखि रेस्टुरेन्टमा कार्यरत रहेको र आर्थिक हिसाबकिताबसमेत हेर्ने गरेको प्रहरीले जनाएको छ।






मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार खत्री र युवतीबीच व्यक्तिगत तथा प्रेम सम्बन्ध रहेको खुलेको छ। पछिल्लो समय उनीहरूबीच सम्बन्धमा खटपट देखिएको र रेस्टुरेन्टको आर्थिक कारोबारसम्बन्धी विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले युवतीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। यद्यपि, खत्रीको मृत्युमा युवतीको संलग्नता वा उनको व्यवहारको कुनै भूमिका रहेको पुष्टि भइसकेको छैन।
खत्री शुक्रबार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए। त्यसपछि परिवारसँग सम्पर्कविहीन भएका उनी शनिबार अपराह्न मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानी जंगलमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।
परिवारका सदस्यले पहिचान गरेपछि शनिबार साँझ उनको सनाखत भएको थियो। विवाहित खत्रीका श्रीमती, एक छोरा र एक छोरी छन्। घटनाका बेला उनकी श्रीमती भारतमा रहेको जनाइएको छ।






