


काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी व्यवसायी तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत ललितपुरको आदेश उच्च अदालत पाटनले सदर गरेको छ।


बिहीबार न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको इजलासले अधिकारीलाई थुनामुक्त गर्न अस्वीकार गर्दै जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको हो। यससँगै मुद्दाको अन्तिम फैसला नआएसम्म उनी थुनामै रहने भएकी छन्।






अधिकारीलाई गत जेठ १७ गते इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनीविरुद्ध आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ।

उनीमाथि २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा बिगो मागदाबी गरिएको छ। हुन्डीमार्फत आर्जित सम्पत्तिको स्रोत तथा स्थान परिवर्तन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपसमेत उनीमाथि लगाइएको छ।
जिल्ला अदालत ललितपुरले जेठ २१ गते अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। उक्त आदेश बदर गरी थुनामुक्त हुन माग गर्दै उनले उच्च अदालतमा निवेदन दिएकी थिइन्।
अदालतको पछिल्लो आदेशले उनको थुनामुक्त हुने प्रयास असफल भएको छ। यद्यपि, पुर्पक्षका लागि थुनामा राख्ने आदेश अभियोग प्रमाणित भएको अर्थमा बुझ्न मिल्दैन। मुद्दाको अन्तिम फैसला हुन बाँकी छ।






