

काठमाडौं । सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।
शीतल निवासका अनुसार नियुक्त हुनेहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी छन् ।
यसअघि असोज २० गते बसेको न्याय परिषद्को बैठकले चारैजनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले कात्तिक २१ गते चारैजनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

