

काठमाडौं । नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी–६ स्थित चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु र ६ जना गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। कांग्रेसले मृतकका परिवारलाई तत्काल राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको हो।
साथै,बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गरी दुर्घटनाका कारण अध्ययन गर्न र सडक सुरक्षा सुधारका उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
बिहीबार बिहान काठमाडौंबाट सर्लाही जाँदै गरेको ईभी मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४,सुन्दरपुरका र एकजना चालक कविलासी नगरपालिकाका बासिन्दा रहेका छन्।
घाइतेमध्ये तीनजना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीनजनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

