

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ । काठ ओसारपसारमा प्रयोग गरिएको ट्याक्टरका चालक भने फरार भएका छन् ।
आइतबार साँझ कृष्णपुर नगरपालिका–२, बाणीबाट ६ गोलिया सालको काठसहित स्थानीय उमेशप्रसाद कलौनी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले से १ त २३६७ नम्बरको ट्याक्टरमा लोड गरी लैजाँदै गरेको अवस्थामा उक्त काठसहित कलौनीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बरामद गरिएको सालको काठको परिमाण ६२.३८ क्यूफिट रहेको छ । काठ ओसारपसारमा प्रयोग गरिएको ट्याक्टरका चालक नरेश जोशी भने फरार रहेका छन् ।
स्थानीयका अनुसार कलौनीको खेतमा ढलेको रुख काटेर काठ तयार गरिएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

