२५ पुस, धनगढी । धनगढीको एलायन्स इन्टरनेशनल स्कुलले विद्यार्थीलाई निःशुल्क गोवा भ्रमणमा लैजाने भएको छ । एलायन्स इन्टरनेशनल स्कुलले होटेल व्यवस्थापन विषय अध्ययन गरिरहेका विद्यार्थीलाई शैक्षिक भ्रमण अन्तरगत गोवा लैजान लागेको जनाएको छ ।
सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै स्कुलले हरेक वर्ष गोवा भ्रमणमा लैजाने कार्यक्रम अन्तरगत यसवर्ष पनि विद्यार्थीहरुलाई लगिरहेको जानकारी दिएको छ । स्कुलका व्यवस्थापक नितिश जोशीले तीन वर्षदेखि स्कुलले विद्यार्थीलाई स्कुलकै खर्चमा हवाई मार्गबाट निःशुल्क गोवा भ्रमणमा लैजाने गरेको जानकारी दिए ।
होटेल व्यवस्थापन अध्ययन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनुभव प्राप्त होस् भनेर भारतको प्रमुख पर्यटकीय गन्तव्य गोवा भ्रमण लाग्ने गरेको जोशीले बताए । यो वर्ष तेस्रो व्याचलाई गोवा भ्रमणमा लैजान लागेको जोशीले जनाए ।
गोवा बसाईको क्रममा विद्यार्थीले त्यहाँको पर्यटकीय गतिविधि, विभिन्न स्टार होटेलको व्यवस्थापकीय पक्षबारे जनाकारी पाउने भएकाले स्कुलले हरेक वर्ष विद्यार्थीलाई गोवा लैजाने नीति लिएको उनको भनाइ छ ।
विद्यार्थीहरूलाई लखनऊबाट प्लेनमा आवतजावत गर्ने व्यवस्था मिलाइएको छ भने उनीहरुलाई त्यहाँ एक हप्तासम्म भ्रमण गराइनेछ । सो क्रममा विद्यार्थीले नयाँ अनुभव र सिकाइ प्राप्त गर्ने स्कुलले विश्वास लिएको छ ।
यो वर्ष स्कुलको कक्षा १२ मा होटेल व्यवस्थापन विषय अध्ययन गरिरहेका विद्यार्थीलाई जनवरी १० बाट गोवा भ्रमण गराउने योजना छ ।