कैलाली–३ : दुई पूर्व सहकर्मीको प्रतिस्पर्धामा गंगारामले थपे रौनक

cp new add
Nisharg hospital

४ कात्तिक, धनगढी । दोस्रो संविधानसभा निर्वाचनमा माओवादीका ठूला नेताले चुनाव हार्दा गौरीशंकर चौधरी कैलालीबाट निर्वाचित भए ।

Telecome

२०७४ मा वाम गठबन्धन भयो, फेरि चुनाव जिते । दुई पटक चुनाव जितेका गौरीशंकर नेकपा एमालेतिर लागेपछि माओवादी केन्द्रले यो पटक कृष्णकुमार चौधरी ‘कुन्दन’लाई उम्मेदवार बनाएको छ ।
कैलाली क्षेत्र नम्बर ३ (निर्वाचन क्षेत्र पुनर्संरचना नहुँदा ४) मा प्रतिनिधिसभा सदस्यका लागि यो पटक दुई ‘माओवादी’ नेता गौरीशंकर र कृष्णकुमारबीच चर्को प्रतिस्पर्धा छ ।

गौरीशंकर नेकपा हुँदै एमालेमा छन् । पहिलो संविधानसभामा तत्कालीन कैलाली ४ बाट निर्वाचन कृष्णकुमार भने नयाँ शक्ति, जसपा हुँदै फेरि माओवादीमा फर्किएका हुन् ।
नेपाली कांग्रेस हुँदै नागरिक उन्मुक्ति पार्टीमा पुगेका गंगाराम चौधरी पनि यसै क्षेत्रमा उम्मेदवार छन् । उनको प्रवेशले दुई पूर्व सहकर्मीबीचको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ ।

के भन्छन् उम्मेदवार ?

माओवादी केन्द्रका कृष्णकुमार चौधरीले आफूसँग कुनै पनि दलको प्रतिस्पर्धा नै नहुने दाबी गर्छन् । माओवादीबाट दुई पटक चुनाव जितेर मन्त्री भइसकेका गौरीशंकर स्वार्थको राजनीतिमा लागेकाले मतदाताले नपत्याउने उनको जिकिर छ । नागरिक उन्मुक्ति पार्टीसँग क्षेत्रीय र जातीयबाहेक अर्को मुद्दा नभएको भन्दै उनले भने, ‘यो क्षेत्रमा एमाले पार्टी नै कमजोर हो । नागरिक उन्मुक्ति पार्टीसँग राजनीतिक भिजन नै छैन । क्षेत्रीय पार्टीले टीकापुरका राजबन्दीलाई रिहाइ गर्ने ल्याकत राख्दैन ।’

एमाले उम्मेदवार गौरीशंकर भने माओवादीका कृष्ण उम्मेदवार ‘टुरिष्ट’ जस्तो भएकाले जनताले स–सम्मान बिदा गर्ने दाबी गर्छन् । ‘मैले हिजोका दिनमा यहाँका जनतासँग रहेर काम गरेको छु । अहिले टुरिष्ट उम्मेदवार भएर चुनाव लड्न आउनेलाई मतदाताले पत्याउँदैनन्,’ चौधरीले भने, ‘विगतमा मैले सुरुवात गरेका काम पूरा गर्न पुनः मेरो उम्मेदवारी भएकाले चुनाव जित्नेमा ढुक्क छु ।’

नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले भने थारुसहित उत्पीडनमा परेका नागरिकको न्याय र अधिकारका लागि उम्मेदवारी दिएको बताउँछन् । ‘रेशम चौधरीसहित जेल जीवन बिताइरहेकाहरुको उन्मुक्तिका लागि मेरो उम्मेदवारी हो,’ चौधरीले भने, ‘अब हामी थारु मात्र नभएर उत्पीडनमा परेका सबै समुदायको न्याय र अधिकारका लागि लड्छौं । त्यसैले यहाँको जनताले हामीलाई निर्वाचित गराएर पठाउनेमा विश्वस्त छौं ।’

स्थानीय चुनावको नतिजा

घोडाघोडी नगरपालिका, भजनी नगरपालिकाका ७ वडा र कैलारी गाउँपालिकाका ७ वडा पर्ने क्षेत्र नम्बर ३ मा स्थानीय निर्वाचनको नतिजाअनुसार नेपाली कांग्रेस सबभन्दा ठूलो दल हो ।
३० वैशाखको चुनावमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले २० हजार २४ मत पाएका छन् भने माओवादी केन्द्र वडाध्यक्षका उम्मेदवारले ११ हजार ५१४ र एमालेका उम्मेदवारले ११ हजार १७८ मत पाएका थिए । राप्रपाले ६ हजार ६६४ र नागरिक उन्मुक्ति पार्टीले ५ हजार २५८ र एकीकृत समाजवादीले ३ हजार १८ मत पाएका छन् ।

यो आंकडाले सत्ता गठबन्धनका साझा उम्मेदवार कृष्णकुमारलाई सहज देखिन्छ, तर उनले गठबन्धनमा आवद्ध सबै दलको मत पाउन सहज छैन । किनकी कांग्रेसबाट बागी उम्मेदवारी पनि परेको छ ।
प्रतिनिधिसभातर्फ कांग्रेसका नवीनकुमार बोहरा र प्रदेशसभा (२) तर्फ कांग्रेसकै गोविन्दराज जोशी र लक्ष्मण शाहीले उम्मेदवारी दिएका छन् । जोशी कांग्रेसका पुराना नेता हुन् भने शाही अघिल्लो चुनावमा पराजित भएका थिए । केही महिना अघि माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवार बनेका रमेश आचार्यले पनि केही भोट काट्न सक्छन् ।

नागरिक उन्मुक्ति पार्टीले भने टीकापुर घटनामा निर्दोषलाई फसाइएको भन्दै भोट मागिरहेको छ । उसका उम्मेदवार गंगारामको व्यक्तिगत प्रभाव पनि राम्रो मानिन्छ ।
तीनै जना उम्मेदवार थारु समुदायबाट भएकाले उनीहरुको बाहुल्यता रहेको भजनी नगरपालिका र कैलारी गाउँपालिकाको मत बाँडिने देखिन्छ ।

स्थानीय चुनावको अंक गणितमा कमजोर भएपनि सत्ता गठबन्धनको असन्तुष्टिको लाभ लिने एमालेको रणनीति छ । ‘स्थानीय चुनावको मतमा माओवादी र हाम्रो अन्तर झिनो छ । कांग्रेसकै भोट निर्णायक हो,’ एमालेका एक नेताले भने, ‘कांग्रेसभित्र असन्तुष्टि भएकाले मतदाताले हामीलाई सहयोग गर्ने विश्वास गरेका छौं ।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...