


धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा) सुदूरपश्चिमको प्रदेश अधिवेशन सोमबार हुने भएको छ । धनगढीको रिद्धिसिद्धी पार्टी प्यालेसमा बिहान १० बजेदेखि अधिवेशन हुने रास्वपाले जनाएको छ ।
अधिवेशनमा सहभागी हुन प्रदेशका अन्य जिल्लाबाट प्रतिनिधि धनगढी आइसकेका छन् । अधिवेशनको उद्घाटन सत्र सकिएपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढ्ने बताइएको छ ।
प्रदेश सभापतिमा निवर्तमान पार्टी सभापति इन्जिनियर प्रकाश विष्ट दोहोरिने सम्भावना रहेको नेताहरु बताउँछन् । प्रदेश सभापतिमा दार्चुलाका जनक राज पन्तले समेत दाबी गरेका छन् । तर, पन्त भन्दा पनि विष्टकै सम्भावना बलियो रहेको बताइन्छ ।
रास्वपा सुदूरपश्चिमका संस्थापक सभापति समेत रहेका विष्ट पार्टीलाई नेतृत्व दिनसक्ने कुशल संगठक भएको र उनैले प्रदेशमा संगठन विस्तार गरेकाले योपटक विष्टलाई नै दोहोर्याउनुपर्ने मत प्रतिनिधिहरुको रहेको एक नेताले बताए ।
‘रास्वपा पार्टीको सुदूरपश्चिममा संगठन बनाउने प्रमुख नेता उहाँ(प्रकाश) नै हो । पार्टीको संगठन नै नभएका बेला उहाँले दिनरात नभनि खटिएर रास्वपालाई यहाँसम्म ल्याउनुुभयो,’ ती नेताले भने, ‘अहिले नेतृत्व म लिन्छु भनेर अरु पनि अग्रसर हुने कुरा अन्यथा नभएपनि एक कार्यकाल विष्टलाई नै नेतृत्व दिनुपर्छ भन्ने आम मत छ ।’
अर्को पक्षले विष्टलाई दोहोरिन नदिन विभिन्न षड्यन्त्र गरिरहेपनि प्रतिनिधिको रोजाइ विष्ट नै भएको उनी बताउँछन् । यसअघि विभिन्न राजनीतिक दलमा लाभ लिइसकेको र रास्वापमा पनि लाभकै लागि घुुसेको एउटा समूहले विष्टलाई रोक्न अनेक जुुक्ति लगाइरहेको दाबी गरिएको छ । तर, प्रतिनिधि नै नभएपछि उक्त समूह रणभुल्लमा परेको बताइन्छ ।
प्रदेश अधिवेशन पार्टीका महामन्त्री भूूपदेव शाहले उद्घाटन गर्ने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ । शाह धनगढी आइपुगेका छन् ।

