
धनगढी उपमहानगरपालिकाले हाल सञ्चालनमा रहेको फूलवारी–धनगढी–अत्तरिया रुटको नगर बस सेवासँगै आगामी आर्थिक वर्षदेखि थप चार नयाँ रुटमा सेवा विस्तार गर्ने भएको छ।

उपमहानगरपालिकाले ग्रामीण तथा सहरी क्षेत्रलाई एकआपसमा जोड्दै आर्थिक गतिविधि प्रवर्द्धन गर्ने र नागरिकको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित नगर बस सेवा विस्तार गर्न लागिएको जनाएको छ।
नगरपालिकाका अनुसार धनगढी–कनरी–रामपुर–चौमला, धनगढी–पथरी–वनबेहडा, बेली–जुगेडा–घुईंयाघाट–बंगरा कटान तथा धनगढी–घोडसुवा–स्याउले रुटमा नयाँ बस सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।
हाल उपमहानगरपालिकाले फूलवारी–धनगढी–अत्तरिया रुटमा २०८१ भदौदेखि नगर बस सेवा सञ्चालन गर्दै आएको छ। नयाँ चार रुट थप भएसँगै नगर बस सेवा पाँच रुटमा विस्तार हुने भएको हो।
यसैबीच, नगर बस सेवा विस्तारका लागि आवश्यक ६ वटा विद्युतीय मिनिबस खरिद गर्ने प्रक्रिया अघि बढाइएको उपमहानगरपालिकाले जनाएको छ।

