
कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले करिब रु. २ लाख ४९ हजार मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका अन्दाजी रु. १ लाख ६६ हजार ४०० मूल्य बराबरका बिडी, सुर्ती, कुर्ती, सुटपिस, मटरदाना लगायतका सामान मंगलबार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी रु. ८२ हजार ७९० मूल्य बराबरका पेय पदार्थ, बिडी, सुर्ती, नमकिन, फलफूल, थान कपडा लगायतका सामान बेवारिसे अवस्थामा बरामद गरेको छ।
बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

