‘के हुन लाग्यो हाम्रा देश’ : डेउडाको लयमा देशको पीडा सुनाउँदै सौगात ओझा

cp new add
Nisharg hospital

धनगढी । गायक सौगात ओझाले डेउडाको मौलिक लयमार्फत देशको वर्तमान अवस्था र नेपाली समाजका समस्या उठान गर्दै नयाँ गीत ‘के हुन लाग्यो हाम्रा देश’ सार्वजनिक गरेका छन्।

ओझा र बसन्ती महराको स्वर रहेको गीत बुधबार ‘सौगात ओझा आर्टिस्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतका शब्द तथा संगीत ओझाकै रहेको छ। गीतमा बाढी, पहिरो, भूकम्प, हिमपहिरो, हिमताल फुट्ने घटना तथा दुर्घटनाबाट हुने मानवीय क्षतिदेखि हत्या, हिंसा, बलात्कार, लागूऔषध दुर्व्यसन, मदिरा सेवन र पारिवारिक अशान्तिसम्मका विषयलाई उठाइएको छ।

रोजगारीका लागि युवा विदेशिँदा पहाडी गाउँबस्ती रित्तिँदै गएको, घर भत्किँदै गएको र खेतबारी बाँझिँदै गएको अवस्थालाई गीतले विशेष रूपमा चित्रण गरेको छ। ‘पहाडका गाउँबस्ती बाँझो, घर पनि भत्किए, बुढापाका रुल्लटुल्ल, युवा विदेशिए’ जस्ता शब्दले ग्रामीण नेपालको बदलिँदो अवस्थालाई प्रस्तुत गर्छन्।

समस्या र पीडालाई मात्रै प्रस्तुत नगरी गीतको अन्त्यमा देशमा सुख, शान्ति र सद्भाव कायम होस् भन्ने प्रार्थना गरिएको छ।

गीतको रेकर्डिङ कुसुम स्टुडियोमा गरिएको हो। कृष्ण बाजुरालीले एरेन्ज तथा मिक्सिङ, भरत भट्टले ब्याकग्राउन्ड म्युजिक, जहिद बुढाले क्यामेरा र पीआर जोशीले सम्पादन गरेका छन्। पोस्टप्रोडक्सन बीएसजी पिक्चर्सले गरेको हो।

डेउडाको लयमा समेटिएको ‘के हुन लाग्यो हाम्रा देश’ले देशको समसामयिक अवस्था, सामाजिक विकृति र युवाको विदेश पलायनलाई सांगीतिक रूपमा उठाउँदै ‘आखिर हाम्रो देश कता जाँदैछ ?’ भन्ने प्रश्न गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...