
काठमाडौं । काठमाडौं उपत्यकामा शृंखलाबद्ध लुटपाटमा संलग्न रहेको आरोप लागेका एक युवकले जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार खरिद गर्ने तयारी गरेको खुलेको छ।
प्रहरीले २७ वटा मुद्दामा संलग्न रहेको भनिएका २४ वर्षीय आयन माझीलाई पक्राउ गरेपछि उनको समूहका गतिविधिबारे थप विवरण सार्वजनिक भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका माझीलाई काठमाडौं महानगरपालिका–३२, जडीबुटीस्थित पुलमुनिबाट पक्राउ गरिएको हो।
पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेपछि दुई राउन्ड हवाई फायर र एक राउन्ड गोली प्रहार गरिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार माझी नेतृत्वको समूहले जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका पेस्तोल तथा अन्य हतियार खरिद गर्ने विषयमा कुराकानी गरेको सूचना प्राप्त भएको थियो। प्रारम्भिक अनुसन्धानमा समूहले हतियार खरिद गरी लुटपाटका गतिविधि विस्तार गर्ने योजना बनाएको आशंका गरिएको छ।
यसअघि घरेलु हतियार प्रयोग गर्दै आएको समूहले पेस्तोल प्राप्त गर्न खोजेको विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको जनाएको छ। हतियार खरिदसम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार समूहले बिहान मर्निङवाकमा निस्किएका व्यक्ति तथा राति एक्लै हिँड्ने सर्वसाधारणलाई लक्षित गरी लुटपाट गर्ने गरेको थियो। बाटो सोध्ने बहाना बनाएर घाँटीमा लगाएका सुनका सिक्री तथा अन्य गरगहना लुट्ने र मोटरसाइकलमा फरार हुने गरेको प्रहरीको दाबी छ।
त्यस्तै, इनड्राइभ र पठाओका चालक बनेर यात्रुलाई सुनसान स्थानमा पुर्याउने तथा हतियार देखाएर लुटपाट गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार असोज १४ गते राति काठमाडौंको बौद्धस्थित गेट नम्बर २ नजिकै तरकारी किन्न निस्किएका एक व्यक्तिबाट चारदेखि पाँच जनाको समूहले दुई लाख रुपैयाँ नगद र कागजात लुटेको थियो। उक्त घटनामा माझी समूहको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
त्यसैगरी, असोज १३ गते राति डल्लु क्षेत्रमा कारभित्र रहेका व्यक्तिको घाँटीबाट साढे तीन तोलाको सुनको सिक्री लुटिएको घटनामा पनि यही समूह संलग्न रहेको प्रहरीको दाबी छ। अनुसन्धानका क्रममा प्रहरीले दुईवटा मोटरसाइकल, पाँचवटा नक्कली नम्बर प्लेट, एक थान खुकुरी तथा लुटपाटका बेला प्रयोग गरिएका कपडाहरू बरामद गरेको जनाएको छ।
लुटपाटपछि पहिचान लुकाउन सवारीसाधनको नम्बर प्लेट परिवर्तन गर्ने र फरक–फरक मोटरसाइकल प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ। समूहका अन्य सदस्यको खोजी भइरहेको छ। प्रहरीका अनुसार यसअघि माझी समूहका १० जनालाई डाँका चोरीसम्बन्धी मुद्दामा पक्राउ गरी कारबाही अघि बढाइएको थियो। धरौटीमा छुटेपछि माझी पुनः लुटपाटका घटनामा संलग्न भएको प्रहरीको दाबी छ।
प्रहरीले उनीविरुद्धका घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेका व्यक्तिमाथिका आरोप अदालतबाट पुष्टि हुन बाँकी छन्।

