बैतडी । बैतडीका दुई पालिकामा क्षयरोगमुक्त नेपाल अभियान सुरु भएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले उक्त अभियान सञ्चालन गरेको हो ।
सुर्नया गाउँपालिकामा अभियान अन्तर्गतका कार्यक्रमहरु सञ्चालनका लागि पालिकास्तरीय संयोजन समिति गठन गरिएको छ ।
आइतबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरेर गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरको संयोजकत्वमा समिति गठन गरिएको हो ।
उक्त समितिको सहसंयोजकमा गाउँपालिका उपाध्यक्ष मञ्जु बोहरा रहेकी छन् ।
८ ओटै वडाका अध्यक्षहरुलाई सदस्यमा राखिएको छ । पालिकाभरीका दुईओटा स्वास्थ्य संस्थाका प्रमुख, गाउँपालिकाका शिक्षा शाखा प्रमुख, पालिका नजिकको एक विद्यालयका प्रधानाध्यापक र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत समितिमा राखिएको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए ।
पालिकाका आठओटै वडामा वडा अध्यक्षको संयोजकत्वमा वडास्तरीय समिति गठन गरिने बताईएको छ ।
उक्त अभियान अन्तर्गत पालिकाभरी क्षयरोगका बिरामीहरुको खोजपडताल गरिनेछ भने खकार संकलन गरेर परीक्षणको काम गरिनेछ ।
नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । केन्द्रले बैतडीका दुई पालिका सहितका १ सय २५ पालिकामा उक्त अभियान सञ्चालन गरेको छ ।
