
३ मंसिर, डोटी । डोटीमा भोलि हुने संसदीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाका एक सय ७७ स्थायी र एक अस्थायी गरि १७८ वटै मतदान केन्द्रमा कर्मचारीहरु र निर्वाचन सामग्री पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

‘एक गते नै सबै मतदान केन्द्रमा कर्मचारीहरुको टोली पुगिसकेको छ,’ मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश शिवलाल पाण्डेयले भने, ‘उहाँहरुले निर्वाचनसंग सम्वन्धित कार्यहरु सुरु गरिसक्नु भएको छ ।’ आज मतदान केन्द्र निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताए ।
मतदान केन्द्र निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज हुने, मतदाताहरुलाई विश्रामगर्न मिल्ने गरि निर्माण गर्न मतदान अधिकृतहरुलाई निर्देशन दिईएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले बताए । डोटी जिल्लामा एक सय १५ मतदान स्थलहरुमा १७७ मतदान केन्द्र रहेका छन ।
कारागारका कैदीबन्दी र सरकारी कर्मचारीहरुले मतदान गर्न पाउने गरि कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र राखिएको छ । अस्थायी मतदान केन्द्रमा करिब तीन सय अस्थायी मतदाता रहेको मुख्य निर्वाचन अधिकृत पाण्डेयले बताए ।
उनले नेपाली सेना, सशस्त्र प्रहरी र दिपायल क्षेत्रमा रहेका सरकारी कर्मचारीका लागि दिपायल राजपुरमा रहेको सु(जङ्ग मतदान केन्द्र मतदान गर्ने व्यवस्था मिलाइएको बताए । यस्तै, तालिम केन्द्रमा रहेका प्रहरी कर्मचारीहरुका लागि दिल्पेश्वर मतदान केन्द्रमा व्यवस्था गरिएको समेत पाण्डेयले जानकारी दिए ।
निर्वाचनका लागि तीनवटै सुरक्षा निकायमा गरि २,४७२ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन । निर्वाचनको लागि कडा सुरक्षा प्रबन्ध मिलाइएकोले मतदाताहरुले ढुक्क भएर मतदान गर्न श्रेष्ठले आग्रह समेत गरिन । डोटी जिल्लामा ६५ हजार ७३५ महिला र ५९ हजार १३५ पुरुष गरि एक लाख २४ हजार आठ सय ७० मतदाता रहेका छन् ।

