बाजुराको मार्तडीमा निःशुल्क हाडजोर्नी शिविरबाट १६६० नागरिकलाई उपचार सेवा

cp new add
Nisharg hospital
suchana

बाजुरा। बाजुराको मार्तडीमा सञ्चालन गरिएको निःशुल्क हाडजोर्नी सम्बन्धी स्वास्थ्य शिविरबाट एक हजार ६६० जनाले सेवा प्राप्त गरेका छन्। कात्तिक १७ देखि २१ गतेसम्म सञ्चालन गरिएको उक्त शिविर नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, बडिमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

नेपाल अर्थोपेडिक अस्पतालका अनुसार शिविरमा ९२ जनाको शल्यक्रिया ९अपरेशन० गरिएको छ भने बाँकी बिरामीले ओपीडी सेवामार्फत उपचार सेवा प्राप्त गरेका छन्। अस्पताल प्रमुख चन्द्रशेखर यादवका अनुसार शिविर विशेष गरी गरिब, अपाङ्ग, असहाय र शारीरिक रूपमा कमजोर नागरिकका लागि सञ्चालन गरिएको थियो।

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.मुक्ति तिमिल्सेनाको नेतृत्वमा रहेको टोलीले आगोले पोलिएका, जन्मजात हातखुट्टा बाङ्गिएका, हड्डी भाँचिएका तथा अन्य शारीरिक विकृतिबाट ग्रस्त बिरामीलाई निःशुल्क सेवा प्रदान गरेको थियो। स्थानीयवासीहरूले लामो समयदेखि उपचार पाउन नसकेका विपन्न नागरिकका लागि यो शिविरले राहतको काम गरेको बताएका छन्।

४७ वर्षदेखि गैरनाफामूलक रूपमा सेवा दिँदै आएको नेपाल अर्थोपेडिक अस्पतालले यसअघि पनि करिब सात वर्षअघि बाजुरामै यस्तै शिविर सञ्चालन गरेको थियो, जसमा ५५ जनाको अपरेशन र १,१०० जनाले ओपीडी सेवा पाएका थिए।

यसैबीच, बाजुराको बुढिनन्दा नगरपालिका–कोल्टीमा आगामी कात्तिक २४ देखि २६ गतेसम्म गेटा आँखा अस्पताल, ‘एक एक पाइला’ संस्था र बुढिनन्दा नगरपालिकाको सहकार्यमा अर्को निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी भइरहेको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...