
मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन्दाना घाइते भएकी छन् । एक फिल्मको सुटिङका क्रममा उनी घाइते भएकी हुन् । एक डान्स सिक्वेन्सको छायाङ्कन गर्ने क्रममा उनको कम्मर ( हिप )मा गम्भीर चोट लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चोटका कारण चिकित्सकले उनलाई करिब ६ हप्तासम्म पूर्ण रूपमा आरामका लागि सल्लाह दिएका छन् । आगामी फिल्मका लागि कठिन एक्सन र डान्स दृश्यको छायाङ्कन गर्ने क्रममा उनलाई यो चोट लागेको हो ।
डान्स सुटिङका क्रममा रश्मिकाको कम्मरको हड्डी छुट्टिएको छ । यो चोट निकै गम्भीर प्रकृतिको भएकाले उनलाई निको हुन र पुनः सुटिङमा फर्कन केही समय लाग्ने देखिएको छ । रश्मिका हाल ‘रणबाली’ र ‘मैसा’ जस्ता फिल्महरूको तयारी र छायाङ्कनमा व्यस्त थिइन् ।
रश्मिकाको चोटको गम्भीरता देखेर चिकित्सा विज्ञहरूले समेत आश्चर्य व्यक्त गरेका छन् । विशेषज्ञहरूका अनुसार यस्तो प्रकारको चोट सामान्यतया व्यावसायिक एथलीटहरूमा मात्र देखिने गरिन्छ । अहिले उनी घरमै आराम गरिरहेकी छिन् ।

